
काठमाण्डु, ८ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका छन् ।
नेत्रविक्रम चन्द विप्लवलाई वार्ता, संवादमा आउन आग्रह गरेका चितवनबाट प्रचण्डले घटना घटाएर परिवर्तन हुन्छ भन्नु भ्रम मात्रै हुने बताए ।
‘एक, दुइटा बम पड्काएर जनतालाई आतंकित पारेर चन्दा उठाएर हिँड्ने यो अवस्था होइन,’ प्रचण्डले भने, ‘घटना घटाएर परिवर्तन हुन्छ भन्नु ठूलो भ्रम हो ।’
देशमा कम्युनिस्टलाई जनताले दुई तिहाइ मत दिएको र कम्युनिस्टकै सरकार रहेको उल्लेख गरेका प्रचण्डले वार्ता, संवादबाटै जाने सकिने वातावरण भएको बताए ।
‘यो ०५२ साल होइन । हामी ०७६ सालमा पुगेका छौं । संसारले नेपालको शान्ति प्रक्रियालाई हेरेको छ,’ प्रचण्डले भने, ‘विप्लवलगायत सबैलाई राम्रैसँग चिन्छु । उहाँहरू गलत बाटो हिँड्दै हुनुहुन्छ भनेर मैले लगातार भन्दै आएको छु ।’