
बुटवल, ७ बैशाख – जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार बुटवलमा कालोझण्डा देखाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् ।
खचाखच भरिएको मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी अर्घाखाँचीका रुद्र घिमिरे ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै कार्यक्रम स्थलमा प्रवेश गरेका थिए ।
उनले कार्यक्रमस्थलमा कालोझण्डा देखाएपनि सुरक्षा निकाय भने मौन बसेको थियो । प्रधानमन्त्रीले नै सम्बोधन रोकेर कालोझण्डा देखाइराखेको छ, के हरेर बस्या छ सुरक्षा निकाय ? भनेपछि मात्रै प्रहरीले उनलाई समातेको थियो ।
उनी कुन पार्टीका कार्यकर्ता हुन् भन्ने पुष्टि हुन सकेको छैन । उनलाई प्रहरीले निगरानीमा राखेको छ ।