जेट एयरवेजका कर्मचारीकाे रोदनः तलब नपाएर घर बेच्नुपर्ने अवस्था आयो

काठमाण्डु टुडे २०७६ वैशाख ६ गते १४:१४ मा प्रकाशित

मुम्बई, ६ वैशाख – भुजा पुजारीले जेट एयरवेजको स्थापनादेखि नै ब्यागेज ह्यान्डलिङमा काम गर्दै आएका थिए । एयरवेजले बुधबार साँझ आफ्ना सबै उडान स्थगनको घोषणा गरेपछि उनी अन्योलमा छन् ।

उनीहरु बुधबार रातभर सुत्न सकेनन्  ।‘मैले मेरा दुवै हात बाँधिएको महसुस गरेको छु, रातभर सुत्न पनि सकिनँ,’ उनले भने, ‘छोराछोरीलाई पनि केही भनेको छैन, तिनीहरू सानै छन्, तर केही भएको तिनीहरूले थाहा पाइसकेका छन् ।’

५३ वर्षीय पुजारीले यो संकट जारी रहे के गर्ने भनेर सोच्न पनि नसकेको बताए । २ महिनादेखि तलब नपाएको र आर्थिक समस्या टार्न घरै बेच्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

१ अर्ब २० करोड डलरभन्दा बढी ऋणमा डुबेको एयरवेजलाई बैंकहरूले समेत ऋण नपत्याएपछि बुधबार आफ्ना सबै सेवा स्थगनको घोषणा गरेको थियो । यसका १६ हजार कर्मचारी छन् भने हजारौं मानिस यसमा जोडिएका थिए । सञ्चालनको उत्कर्षमा यसका १२० विमान थिए ।

तिनले दैनिक ६ सय उडान गर्थे । स्थगनपछि ती सबैको रोजगार संकटमा परेको छ । बिहीबार एयरवेजका सयौं कर्मचारीले नयाँदिल्ली तथा मुम्बईमा प्रदर्शन गर्दै कम्पनी व्यवस्थापनले आफ्नो बिग्रँदो आर्थिक अवस्थाका बारेमा कर्मचारीलाई अँध्यारोमा राखेको आरोप लगाए ।

मुम्बई अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भएको प्रदर्शनमा कर्मचारीहरूले ‘जेट एयरवेज बचाऊ, हाम्रो परिवार बचाऊ’ नारा लगाएका थिए । कतिपय कर्मचारीहरू भावुक भएर रोए । पाइलटहरूले संकट समाधानका लागि हस्तक्षेप गर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई अपिल गरेका छन् ।

गत महिना मोदीले जेट एयरवेजको उद्धार गर्न सरकारी बैंकहरूलाई आग्रह गरेका थिए । ४ सय पाइलट र ४० इन्जिनियरले एयरलाइन्स छाडिसकेका छन् । केही वरिष्ठ कर्मचारी भने कम्पनीले पुनः गति लिने आशामा छन् ।

एयरवेजको पहिलो उडानबाटै जोडिएका ५० वर्षीय अनिल साहुले भने, ‘जे भए पनि हामीलाई जेटप्रति नै आशा छ, यो एउटा सुनामी हो, त्यो सकिएपछि सबै सामान्य हुने हामीलाई विश्वास छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us