
काठमाण्डु, ६ वैशाख – प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिए ।
‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ शुक्रबारदेखि शुरुभएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति थापाले हाम्रा पूर्खाको बलिदानबाट गौरब गर्न लायक सङ्गठनका रुपमा नेपाली सेना उभिनुपर्ने बताए ।
उनले भने, ‘सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैंमा विडम्बना र गम्भीर घटना हो, भ्रष्टाचारलगायत अन्य विकृति अहिले सुधार गर्न नसके कहिल्यै सुधार हुने छैन् ।’
आर्थिक अनियमिता विरुद्ध सङ्गठनले लिएको शून्य सहनशीलताको नीति जङ्गी अड्डाबाटै शुरु गरिने बताउँदै उनले विगतमा भएका अपारदर्शी क्रियाकलापले सङ्गठनलाई पारदर्शी बनाउन कठिन भएकाले यस विषयमा सकल दर्जाले हेक्का राख्नु आवश्यक भएको समेत उल्लेख गरे ।
प्रधानसेनापति थापाले भने, ‘आर्थिक अभाव छ भनेर अनियमिता गर्ने कसैलाई छुट छैन्, पदोन्नति र शान्तिसेनामा सहभागिताजस्ता विषयमा प्रभावशाली व्यक्तिबाट भनसुन गराइ दबाब दिने प्रयास भएमा त्यसको अभिलेख राखिने भएकाले वृत्ति विकासमा त्यसको असर पर्छ तर सङ्गठनमा त्यो प्रवृत्ति अझै पनि अन्त्य हुन सकेको छैन ।’