
काठमाण्डु, ५ वैशाख– सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो समूहले बिहीबार आयोजना गरेको नेपाल बन्द सफल भएको दाबी गरेका छन् ।
बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै विप्लवले सरकारका कारण मुलुक र जनताको अवस्था थप बिग्रँदै गएकाले नयाँ संघर्षको जरुरी रहेको औंल्याए । उनले आफूहरुले जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन नयाँ संघर्षमा जोड दिएको उल्लेख गरेका छन् । विप्लवले जनघात र राष्ट्रघात झनै बढाएको आरोप विप्लवले लगाए । ‘देशको अवस्था दिनानुदिन बिग्रिँदै गएको छ । यो सरकारले जनघात र राष्ट्रघातलाई झनै बढाएर गएको छ’, विज्ञप्तिभा भनिएको छ, ‘त्यसैले देश र जनता असाध्यै जोखिममा पर्दै गएका छन् । जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन एकपटक फेरि नयाँ संघर्षमा एक भएर लाग्न जरुरी भइसकेको छ ।’
विप्लवले बिहीबार आजोजित नेपाल बन्द सफल भएको समेत दाबी गरे । सुरक्षा निकायले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो । यद्यपि बन्दको प्रभाव भने परेन । काठमाण्डु उपत्यकासहित मुलुकका सबै ठूला सहरमा जनजीवन सामान्य रह्यो । बजार, पसल तथा शिक्षण संस्था खुले भने सवारी साधन साविक रुपमै चलेका थिए ।
सरकारले हिंसात्मक गतिविधि गरेको आरोपमा उक्त समूहलाई प्रतिबन्धित गरेयता स्थायी समिति सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली, पोलिट्ब्युरो सदस्य मोहन कार्की, केन्द्रीय सदस्य बन्धु चन्दसहित देशभरबाट जर्दनौंलाई प्रहरीले पक्राउ गरिसकेको छ । सरकारले प्रतिबन्ध घोषणा गरेपछि विप्लव भने भूमिगत छन् ।