एजेन्सी – भारतको छत्तीसगढ राज्यमा पर्ने कौकोन्डा प्रहरी चौकी अन्तर्गतको सुरक्षा टोलीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा दुई माओवादी मारिएका छन् । लोकसभा निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुले माओवादी विरुद्ध सुरक्षा कारबाही गरेका हुन् ।
लोकसभा निर्वाचन अन्तर्गत छत्तीसगढको कान्कर, राज्नान्गन र महासमुन्द गरी तीन निर्वाचन क्षेत्रमा दोस्रो चरणको मतदान भएका बेला भएको सुरक्षा कारबाहीले निर्वाचनलाई पनि प्रभावित पार्ने आशंका गरिएको छ।
यस प्रदेशमा ११ निर्वाचन क्षेत्र रहेका छन्। त्यसमध्ये बस्तार निर्वाचन क्षेत्रमा पहिलो चरणमै मतदान भइसकेको छ।
नक्सलवादीहरुको बढी प्रभाव रहेको दन्तेवाडा र सुक्मा निर्वाचन क्षेत्रमा कडा सुरक्षाका बीच नागरिकहरुले आज बिहीबार मतदान गरिरहेका छन्। रासस