गृहसचिव र आईजीपीलाई गृहमन्त्रीले दिए ८ हजार पुरस्कार

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते १४:०१ मा प्रकाशित

काठमाण्डु, ५ बैशाख – गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल पुरस्कृत भएका छन् ।

गृहमन्त्रालयमा बिहीबार एक कार्यक्रमकाबीच बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरुलाई नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् । बेरुजु फर्छ्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई र नेपाल प्रहरीमा महानिरीक्षक खनाललाई आठ हजार रुपैयाँ नगद एवम् प्रशंसापत्र प्रदान गरिएको छ ।

त्यस्तै गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई ६ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई दिँदै पुरस्कारले अन्य मन्त्रालयलाई पनि राम्रो काम गर्न प्रेरणा दिने बताए ।

गृहन्त्रालय र सो अन्तर्गतका निकायहरुको आर्थिक वर्ष २०७३–७४ सम्मको खर्च २०७४–७५ मा फर्छ्यौट गरिसक्नुपर्नेमा करिब ६३.०३ प्रतिशत फर्छ्यौट गरेको छ । गृहले चार अर्ब ३० करोड ९७ लाखमध्ये दुुई अर्ब ७१ करोड ६२ लाख रुपैयाँ बेरुजु फर्छ्योट गरेका छन् ।

यस्तै नेपाल प्रहरीको आर्थिक वर्ष ०७३–७४ सम्मको बेरुजु ६८ करोड ४१ लाख रुपैयाँमध्ये ८५.१४ प्रतिशत अर्थात ५८ करोड २५ लाख बेरुजु फर्छ्यौट भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us