
पाकिस्तान, ५ बैशाख – पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुको आक्रमणबाट बसमा यात्रारत १४ जनाको मृत्यु भएको छ ।
अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए ।
आक्रमणकारीहरुले अर्धसैनिक फ्रन्टियर कप्र्सका पोशाक पहिरिएको प्रान्तीय गृह सचिव हैदर अलिले जानकारी दिए ।
उनले भने, ‘बन्दुकधारीहरुले गुडिरहेको बसलाई रोके, त्यसपछि बस भित्रका यात्रुलाई बाहिर निकालेर गोली हानी १४ जनाको हत्या गरे ।’
उनका अनुसार ओर्माराबाट कराँचीतर्फ गइरहेका बसहरु मकरान तटीय राजमार्गमा रोकेर यात्रुको हत्या गरिएको हो ।
घटनामा बारेमा कसैले जिम्मा नलिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यस प्रान्तको राजधानी क्वेटामा गत साता भएको आत्मघाती हमलामा २० जना मारिएका थिए ।
बलुचिस्तान अफगानिस्तान र इरानसँग सीमा जोडिएको पाकिस्तानी प्रान्त हो । यस प्रान्तमा पाकिस्तानभरीकै सबैभन्दा धेरै गरिबी, विभिन्न जातिको बसोबास भएको र सबैभन्दा ठूलो प्रान्त हो ।
बलुचिस्तानका मुख्यमन्त्री जाम कमालले घटनाको निन्दा गर्दै मारिएका परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् । एएफपी