
काठमाण्डु, ४ वैशाख– काठमाण्डु उपत्यकामा ट्याक्सी चढ्ने यात्रुका लागि खुसीको खबर छ ।
उपत्यकामा अब ट्याक्सीका सेवाग्राहीले मोबाइल एपमार्फत सेवा पाउने भएपछि भनेको समय र स्थानमा ट्याक्सी नपाइने, ठगिने तथा कतिपय अवस्थामा लुटिने समस्या हट्ने भएको छ ।
ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले यात्रुलाई सहज सुविधा दिन मोबाइल एप सेवा दिने घोषणा गरेको हो । प्रविधिमा आधारित एपमा पहिलो चरणमार्फत करिब ५ हजार बढी स्वरोजगार ट्याक्सी चालकले सेवा दिने भएका छन् । समाजका महासचिव पूर्णलाल मोक्तानले ‘इजीट्याक्सीनेपाल’ नामक एपबाट सेवा सञ्चालन हुनेछ । सुरुमा परीक्षणका रुपमा आगामी वैशाख दोश्रो साताबाट सेवा सुरु गरिने उनले बताए ।
यात्रुले उक्त सेवा लिन मोबाइलमा एप डाउनलोड गरेर दर्ता गर्नुपर्नेछ । यात्रुले एपमार्फत आफू रहेको स्थान र गन्तव्य छनोट गर्नुपर्छ । त्यसपछि उक्त दूरीबाट नजिकै रहेको ट्याक्सी चालकले यात्रुलाई सम्बन्धित मोबाइल नम्बरमा फोन गरेर करिब पाँच मिनेटमा यात्रु भएको स्थानमा आइपुग्नेछ । हालका लागि नगदमै भाडा लिने भए पनि भविष्यमा प्रविधि विकास गरेर एपमार्फत नै भुत्तानीको व्यवस्था मिलाइनेछ । यात्रुको सुविधालाई मध्यनजर गरेर उक्त सेवा सञ्चालनमा ल्याउन लागिएको महासचिव तामाङले जनाए ।