‘जेनेटिक मेमोरी’को प्रयोग गर्नुस्, नेपाललाई अब विद्वानहरुको देश बनाउनुपर्छः प्रम ओली

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते १६:४५ मा प्रकाशित

काठमाण्डु, ४ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको नभई विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन् ।

विद्यालय भर्ना अभियानका सन्दर्भमा आज बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ’ ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।’

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशील र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको स्वरुप फेरिएको स्पष्ट पारे । ‘अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्’ प्रम ओलीले भने ‘अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ ।’

गतबर्ष देखि विशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us