
स्याङ्जा, ४ बैशाख – पोर्चुगलमा निधन भएका स्याङ्जा पुतलीबजार नगरपालिका–५ का २८ वर्षीय विदुर रेग्मीको मंगलबार साँझ कास्कीको सेतीनदीस्थित रामघाटमा अन्त्येष्टि गरिएको छ । निधन भएको ११ दिनपछि उनको हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।
मृतक रेग्मी स्याङ्जा क्षेत्र नं. १ कांग्रेस क्षेत्रीय सभापति एवं पुतलीबजार नगरप्रमुख उपविजेता तुलसीराम रेग्मीका एक मात्र छोरा हुन् । रेग्मीको चैत २३ गते ह्दयघातबाट पोर्चुगलमा निधन भएको थियो ।
रेग्मी नेपाल विद्यार्थी संघ स्याङ्जाका जिल्ला कार्यसमिति सदस्य हुन् । उनी सन् २०१६ मा अध्ययनका लागि पोर्चुगल गएका थिए ।
रेग्मीको पार्थीव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिदै एक होनाहार, कर्मठ, कर्तव्यनिष्ठ युवालाई मुलुकले गुमाउनु पर्दाको पीडा व्यक्त गरे ।