
उपरोक्त सम्बन्धमा यस अनलाइन मिडियाबाट मिति २०७६/१/२ गते प्रकाशित ‘लाइसेन्स फेल चिकित्सक विभूषित’ शीर्षकको समाचारप्रति मेरो गम्भीर आपत्तिसहित ध्यानाकर्षण गराउन चाहन्छु ।
सर्वप्रथम म राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कर्मचारी नभई सो निकायबाट विभूषणको लागि सिफारिस मात्र भएको व्यहोरा जानकारी गराउँदछु । मैले २०७२ सालको महाभूकम्पमा मानवीय सेवाबापत प्राप्त गरेको पदवीलाई लाइसेन्सको विषयसँग सरोकार नभएको ब्यहोरा जानकारी गराउँदछु । सो मानपदवी सामाजिक सेवाको क्षेत्रमा पुर्याएको योगदानको कदर गरेर नेपाल सरकारले प्रदान गरेको हो । तत्कालिन अवस्थामा बङगलादेशबाट चिकित्सा शास्त्रको अन्तिम परीक्षा पुरा गरी स्वदेश फर्केको अवस्थामा महाविपत्ति आएको र सो घटनामा आफ्नै घर क्षतिग्रस्त भएर भाग्यवश सपरिवार जोगिन सफल भएका थियौं। तत्पशचात परिवारलाई छाडेर एक चिकित्सक हुनुको धर्मलाई आत्मसाथ गर्दै जिल्ला अस्पताल पुगेर घाइतेहरुको उपचार र ब्यवस्थापनमा १० दिनसम्म सक्रिय रहें । भूकम्प गएको समयमा जिल्ला अस्पतालका मेसु, जिल्ला जनस्वास्थ्य प्रमुख अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरु जिल्लाकै उत्तरी क्षेत्रमा स्वास्थ्य शिविरका लागि जानुभएको र बाँकी रहनुभएका केही चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट तत्कालिन उपचार र व्यवस्थापन गरिएको थियो ।
त्यसको केही दिनपछि चितवनको कलेज अफ मेडिकल साइन्स चितवनबाट आउनुभएको मेडिकल टिम, बङगलादेशको नेपाली चिकित्सकको टिमलगायत अन्य भोलिन्टीएरहरुको सहभागितामा धादिङ जिल्ला अस्पतालमा धेरै घाइते बिरामीहरुको उपचार र ब्यवस्थापन गर्न सफल भएका थियौं । सो क्रममा घाइतेहरुको लागि खाना, बस्ने ठाउँ, रगतको ब्यवस्थापन र् तत्काल रिफरलको उचित समन्वय् गर्न मेरो विशेष सक्रियता रहेको थियो । नेपाल स्काउटको एक सकृय सदस्य हुनुको नाताले पनि मेरो सक्रियता घाइतेहरुको उपचार तथा ब्यवस्थापनमा उल्लेखनीय थियो ।
अनलाइनमा प्रकाशित भएअनुसार मलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणले ठाडो आदेशमा नभई जिल्ला अस्पताल धादिङ, जिल्ला स्वास्थ्य कार्यालय, धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्वर ३ कार्यालय, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय पुनःनिर्माण कार्यालय, धादिङबाट भोलिनटीयर सेवालाई कदर गरी पदकको लागि सिफारिस भएको ब्यहोरा जानकारी गराउदँछु । त्यसबाहेक पनि २०७४ को तराइमा गएको विनाशकारी बाढीका पीडितहरुलाई उद्दार तथा राहत, विभिन्न सडक दुर्घटनाका घाइतेको आकस्मिक् उपचार तथा ब्यवस्थापन लगायत जस्तोसुकै भवितब्यमा मानवीय सेवा गर्न क्रियाशिल रहेको र रहिरहने कुरा जानकारी गराउदँछु ।
मैले बङगलादेशको राजशाही युनिभर्सिटीबाट चिकित्सा शास्त्र हासिल गरेको र मैले प्राप्त गरेको चिकित्सक उपाधि नेपाल मेडिकल काउन्सिलले नभई सम्मानित युनिभर्सिटीले प्रदान गरेको यथार्थ अवगत गराउन चाहन्छु । डिग्री हासिल गरिसकेको अवस्थामा सिनियर लाइसेन्स प्राप्त चिकित्सको निगरानीमा उपचार प्रक्रिययामा संगलग्न हुन पाउने प्रावधान पनि अवगत गराउन चाहन्छु। म अहिले चिकित्सा डिग्री पुरा गरेको तर स्वतन्त्ररुपले बिरामी उपचार गर्नको लागि चाहिने लाइसेन्स उत्तिर्ण भइनसकेको अवस्थामा रहेको र आगामी परीक्षाको लागि तयारी अवस्थामा रहेको ब्यहोरा जानकारी गराउँदछु । गृह मन्त्रालयबाट प्रकाशित गरेको विभूषण आवेदन फाराममा पेशा उल्लेख गर्नु पर्ने ठाउमा चिकित्सक उपाधि हासिल गरिसकेको आधारमा डाक्टर पेशा उल्लेख गरेको तथ्य अवगत गराउन चाहन्छु । चिकित्सा शास्त्र उत्तीर्ण भइसकेको ब्यक्तिले डाक्टर उपाधि लेख्ने प्रचलन विश्वब्यापी रहेको तथ्य अवगत गराउन चाहन्छु ।
मैले प्राप्त गरेको पदक असल काम गरेको अवस्थामा राज्यबाट सम्मान स्वरुप प्राप्त गरेको हुँदा कसैले पनि आस्चर्यमा पर्नु नपर्ने र विपत्तिमा परेका जनताको सेवा गरेको कुरा नेपाल मेडिकल काउन्सिलबाट भेरीफाइ गराउनु आवश्यक नरहेको कुरा जानकारी गराउन चाहन्छु ।
मैले प्राप्त गरेको प्रबल जनसेवा श्री पदक लाइसेन्स प्राप्त चिकित्सकको नाताले गरेको योगदानमा आधारित नभई एक जिम्मेवार नागरिक र मेडिकल विद्यार्थीले विपत्तिमा पुर्याउनुपर्ने अनिवार्य दायित्वको प्रतिफल रहेको कुरा सम्पादकज्यु समक्ष अनुरोध गर्न चाहन्छु । सो विपत्तिमा मेडिकल विधार्थीकै हैसियतमा काम गरेको तर सिफारिश र पदक सुशोभन अवस्थामा मैले चिकित्सा शास्त्र पुरा गरी डाक्टर डिग्री हासिल भइसकेको स्थिति रहेकोले चिकित्सक दर्जा र नामको अगाडि डा. उपाधि राख्न पाउनु आफ्नो शैक्षिक अधिकार भएको कुरा महोदय समक्ष जानकारी गराउन चाहन्छु ।
नेपाल सरकारको आठ सदस्यीय विभुषण समितिको चरणगत बैठकहरुबाट छानबीन र प्रमाणिकरण गरी सो गरिमामय पदक सिफारिस भई सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट सुशोभित भइसकेको अवस्थामा पुर्वाग्रही ढङगले मेरो चरित्र हत्या गर्ने उद्देश्यबाट प्रेरित भई नेपाल सरकार गृह मन्त्रालय तथा राष्ट्रपतिको कार्यालयलाई समेत विवादमा पार्ने गरी यस मिडिया मार्फत समाचार प्रकाशित भएको हुँदा मेरो यथार्थ विवरण सहित समाचार खण्डन प्रकाशित गरिदिनुहुन अनुरोध गर्दछु ।
डा. राम थापा क्षेत्री
नीलकण्ठ नगरपालिका ३, शान्त बजार, धादिङ
प्रबल जनसेवा श्री विभुषित