खोटाङको हलेसीमा बस पल्टियो, १ को मृत्यु, १४ जना घाइते

काठमाण्डु टुडे २०७६ वैशाख ३ गते १०:५१ मा प्रकाशित

काठमाण्डु, ३ बैशाख – खोटाङको हलेसीमा बस दुर्घटना भएको छ । काठमाण्डुबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् ।

चालक र सहचालकसहित १५ यात्रु सवार ना४ख ७४११ नंको बस गएराति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना भएको हो । दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्समार्फत उपचार गराउन जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घाइतेमध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने अन्य छ जनालाई जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ । दुर्घटनाका घाइतेको नाम अहिलेसम्म खुल्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us