
काठमाण्डु, २ वैशाख – वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ ।
केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
जनसांस्कृतिक महासंघका संंस्थापक सदस्य तथा कम्युनिष्ट आन्दोलनका योद्धासमेत रहेका बुढाथोकीको पार्थिव शरीरलाई उनको निवास नवलपरासी बर्दघाट–२ चिसापानीमा सोमबार श्रद्धाञ्जलिका लागि राखिनेछ ।
बुढाथोकीका दुई श्रीमती, ६ छोरी र चार छोरा छन् । नेपाली कला र साहित्य क्षेत्रका वरिष्ठ सर्जक, कवि, लोकसाहित्यकार, व्याकरणकार एवं गीतकार बुढाथोकी पूर्वसांसद तथा कलाकार सिन्धु जलेसाका पिता हुन् ।