
काठमाण्डु, ३० चैत – मलेसियामा जारी अण्डर १९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले युएईसामु २ सय ४८ रनको चुनौती प्रस्तुत गरेको छ ।
भीम सार्की र हरि बहादुर चौहानले छैटौ विकेटका लागि ९२ रनको साझेदारी गरेपछि नेपालले युएईसामु मध्यम चुनौती प्रस्तुत गरेको हो ।
मलेसियाको क्वालालाम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा टस जितेको युएईले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय ४७ रनको योगफल तयार पार्यो ।
हरि बहादुर चौहानले अविजित ६७ रन बनाएको नेपालको ईनिङमा भीम सार्कीले ५३ र रित गौतमले ४४ रन बनाए । आसिफ शेखले २७, कप्तान रोहित पौडेलले १८ र पवन सर्राफले १२ रन जोडे ।
युएईका रिषव मुखर्जीले ४ तथा महम्मद फाराजुद्धिनले ३ विकेट लिए । पहिलो खेलमा जित निकालेका नेपाल र युएई दुबै टोली एसियाली छनोटका मुख्य दाबेदार टोली हुन् ।
आजको खेलमा जित निकाल्ने टोलीको विश्वकप पुग्ने संभावना बलियो बन्ने भएकाले दुबै स्पष्ट जितको खोजीमा मैदान उक्लिएका छन् ।