काठमाण्डु, ६ फागुन – सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । विमानस्थलका लागि चालु आर्थिक वर्षमा छुट्याइएको बजेट सकिएकाले अर्थ मन्त्रालयले थप ४ अर्ब बजेट रकामान्तर गरिदिएको हो ।

आयोजना प्रभावित स्थानीयलाई मुआब्जा दिन दुई शिर्षकबाट थप ४ अर्ब रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा उक्त आयोजनाको मुआब्जा वितरणका लागि ५ अर्ब छुट्याएको थियो ।
तर, उक्त रकम सात महिनामै सकिएपछि आयोजनाले थप ८ अर्ब माग गर्दै मन्त्रालयमा प्रस्ताव पठाएको थियो । विमानस्थलका लागि दुई वर्षअघिदेखि झण्डै २८८ विगाह जग्गा अधिग्रहण थालिएकोमा गत आर्थिक वर्ष ०७४–७५ बाटै मुआब्जा बितरण थालिएको थियो ।
सरकारले अर्का वर्षसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिसक्ने बताउँदै आएको छ । त्यसैले पनि विमानस्थल सञ्चालन हुनुअगावै जग्गा मुआब्जा वितरण गरिसक्ने तयारी छ ।
पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा विमानस्थलका अन्य भौतिक पूर्वाधारको निर्माण शुरु हुनेछ ।