काठमाण्डु, २१ माघ – युएईविरुद्धको वान डे र ट्वान्टी २० सिरिज जितेर राष्ट्रिय क्रिकेट टोली आज काठमाण्डु फर्कदैछ । दुबै सिरिज २–१ ले जितेको नेपाली टोली ट्रफिसहित दिउँसो साढे ३ बजे काठमाण्डु आईपुग्ने छ ।
नेपालको यो जित दुवै फर्मेटको क्रिकेटमा एतिहासिक सफलता हो । आईसीसीले चार बर्षका लागि एकदिवसीय राष्ट्रको मान्यता दिएपछि, नेपालले यूएईसँग सिरिज खेलेको हो ।
यसैबीच राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दिप लामिछाने बिग बासका बाँकी खेल खेल्न युएईबाटै अष्ट्रेलिया जाने भएका छन् । मेलबर्न स्टार्समा आवद्ध लामिछानेले बिग बास अन्र्तगत लिग चरणका बाँकी २ खेल खेल्नेछन् । मेलबर्न बिग बास क्रिकेट लिगको सेमिफाईनल नजिक पुगेकाले सन्दिपको अष्ट्रेलिया बसाई केही लम्बिने छ ।
पाँचौ स्थानको सिड्नी थन्डर्स र छैटौं स्थानमा रहेको बिस्वेन हिटले अन्तिम खेलमा हार ब्योहोरे मेलबर्न अहिलेकै अंकमा सेमिफाइनल पुग्नेछ । दुबै टोलीले अन्तिम खेलमा जित हात पारे, मेलबर्नले पनि बाँकी २ मध्ये एक खेलमा जित हात पार्न आवश्यक हुनेछ ।
अष्ट्रेलियाबाट बंगलादेश प्रिमियर लिग खेल्न ढाका आएका उनी राष्ट्रिय टिमलाई ऐतिहासिक सफलता दिलाउन युएई पुगेका थिए । लामिछाने, माघ २६ गतेबाट सुरु हुने धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलमा भने सहभागी हुने छैनन् ।