पन्ध्र लाखको च्याउ बिक्री

–राजेन्द्रप्रसाद पनेरु २०७५ माघ १३ गते १३:३७ मा प्रकाशित

कञ्चनपुर, १३ माघ – कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका च्याउ खेतीमा संलग्न किसानले रु १५ लाखभन्दा बढीको कन्ये जातको च्याउ बिक्री गरेका छन् ।

नगरपालिकाको कृषि विकास शाखाबाट अनुदानमा बीउ र प्रविधिमा सहयोग पाएपछि एकसय किसानले च्याउ खेती गरेका हुन् । सय वटा नमूना च्याउ घर बनाई किसानले च्याउ उत्पादन गर्दै आएको शाखाका प्रमुख रणबहादुर मल्लले बताए ।

च्याउ घरबाट किसानले ३० मेट्रिकटन च्याउ उत्पादन गरेका छन्, उनले भने, ‘उत्पादित च्याउ सहजै स्थानीय बेलौरी बजारमा खपत हुने गरेको छ ।’ बजारमा च्याउ रु २५० देखि रु ३०० प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । ‘बजारमा च्याउको माग बढ्दो छ । किसानले मागअनुरुप च्याउ उत्पादन गर्न सकेका छैनन् । बजार भए पनि मागअनुसारको च्याउ उत्पादनका लागि किसानलार्ई अझै प्रविधिमा सहयोग गर्ने योजना बनाइरहेका छौँ’, कृषि प्राविधिक हरिश सेटीले भने ।

‘उत्पादित च्याउ पछिसम्म बजारमा उचित मूल्यमा बिक्री गर्न र ‘सोलार ड्रायर’ प्रयोग गरी चिप्स बनाउने उद्योग स्थापना गर्न नगरपालिकासँंग उक्त शाखाले प्रस्ताव गरेको र यसबाट किसानको च्याउले मूल्य बढी पाउनाका साथै स्थानीय युवालाई रोजगारी पनि दिन सकिन्छ’ शाखा प्रमुख मल्लले भने । गत वर्ष १० किसानले मात्रै कृषि शाखाबाट रु दुई लाख अनुदान लिएर नमूना घर निर्माण गरी च्याउ उत्पादन गरेका थिए । ती नमूना घरबाट किसानले चार मेट्रिक टन च्याउ उत्पादन भएको थियो ।

च्याउ घरमा च्याउको व्यावसायिक उत्पादनमा लागेकी मीना चौधरीले च्याउको बीउ राखेको एक महीनाको अवधिमै च्याउ बिक्रीबाट रु एक लाखभन्दा बढी आम्दानी भएको बताए । च्याउखेतीबाट आम्दानी बढ्दै गएकाले यसलाई थप प्रवर्धन गर्न कृषि प्राविधिकसँग सल्लाह लिन थालेको अर्का कृषक जयराम चौधरीले बताए ।

‘अन्य कृषिजन्य उत्पादनको तुलनामा च्याउखेतीबाट मनग्य आम्दानी हुनाका साथै उपभोक्ताले बढी रुचाएकाले यसलाई व्यावसायिकरुपमा अगाडि बढाउने सोच अघि सारेका छौँ’ उनले भने । छोटो अवधिमै बढी प्रतिफल दिने भएकाले च्याउखेतीतर्फ किसानको आकर्षण बढेको पाइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us