काठमाण्डु, २ माघ – थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले हराएको छ ।
थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको लक्ष्य नेपालले १ विकेट गुमाएर ३.३ ओभरमा पुरा गर्यो । नेपालका लागि ममता कुमारी चौधरीले ८ रन बनाउँदा नेरी थापाले ५ र डोली भट्टले २ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली नेपाली बलरसामू निरिह बन्दै १९ रनमा समेटिएको थियो ।
थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी आरती बिडारीले ३ विकेट लिइन् । इन्दु बर्मा र सरिता मगरले २–२ विकेट लिँदा रूविना क्षेत्री, सोनु खड्का र सीता रानामगरले १–१ विकेट लिए ।
घरेलु टोलीका लागि तान्चानोक फोप्लुकले सर्वाधिक ४ रन बनाइन् । नेपालले अतिरिक्तबाट ५ रन दिएको थियो । थाइल्याण्डका ५ खेलाडी शून्यमा आउट भए ।
यो सँगै लगातार चार खेलमा जित निकालेको नेपाल समूह विजेताको रूपमा समिफाइनला पुगेको छ । प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट नेपाल र संयुक्त अरब इमिरेट्स(युएइ) यसअघि नै प्रवेश गरिसकेका थिए । समूह उपविजेताका रूपमा युएई सेमिफाइनलमा पुगेको छ ।
जारी प्रतियोगितामा चार खेल खेलेको नेपालले चारै खेलमा जित हात पार्दै ८ अङ्क जोडेको छ । युएईले चार खेलबाट ६ अङ्क जोडेको छ ।
शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । आइतबारको दोस्रो खेलमा मलेसियालाई छ विकेटले पराजित गरेको थियो । सोमबार भएको तेस्रो खेलमा नेपालले युएइलाई ६ विकेटले हराएको थियो ।