एसिया कपबाट बाहिरिएपछि भारतीय प्रशिक्षकले दिए राजीनामा

काठमाण्डु टुडे २०७५ माघ १ गते १०:४९ मा प्रकाशित

एजेन्सी । यूएईमा जारी एसिया कप फुटबलमा भारतीय टिम समूहचरणबाटै बाहिरिएपछि प्रशिक्षक स्टीफन कान्सटेन्टाइनले राजिनामा दिएका छन् ।

सोमबार राति समूह चरणको अन्तिम खेलमा बहराइनसँग १–० ले पराजित भएपछि भारत समूह चरणबाट बाहिरिएको हो । बराबरीले मात्रै पनि नकआउट चरणमा पुग्ने भारत अतिरिक्त समयको दोस्रो मिनेटमा गोल खाएपछि सम्भावना सकिएको थियो ।

५६ वर्षीय प्रशिक्षक कन्सटेन्टाइनले सन् २०१५ मा भारतीय टिम सम्हालेका थिए । उनकै प्रशिक्षणमा भारतीय टिमले एशियन कपका लागि छनौट भएको थियो । यसअघि उनले सन् २००२ देखि २००५ सम्म भारतको टिम सम्हालेका थिए ।

अल इन्डिया फुटबल फेडरेशनका महासचिव कुशाल दासले ट्वीट गर्दै प्रशिक्षकले पदबाट राजीनामा दिएको आफूले सुनेको तर आधिकारिक जानकारी नआएको बताएका छन् । उनले प्रशिक्षकको फैसलालाई आफूहरुले स्वीकार गर्दै अहिलेसम्म गरेको योगदानका लागि धन्यवाद दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us