युएईलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाण्डु टुडे २०७५ पुष ३० गते १५:२८ मा प्रकाशित

काठमाण्डु, ३० पुस – नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी (ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगातार तेस्रो खेल जित्ने क्रममा सोमबार युएईलाई ६ विकेटले हराउँदै नेपाल एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको हो । युएईले दिएको १०६ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालका लागि ओपनर सिता रानामगरले सर्वाधिक ३७ रन बनाइन् । अर्की ओपनर काजोल श्रेष्ठले २५ रन बनाउँदा इन्दु बर्माले १३ रन जोडिन् । डोली भट्ट ७ रनमा एलबिडब्लुको धरापमा परिन् ।

यस्तै कप्तान रूविना क्षेत्रीले अभिजित १० रन बनाउँदा नेरी थापा ६ रनमा नटआउट रहिन् ।

यसअघि बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।

युएईका लागि छाया मुगालले ३१ तथा इशा ओजाले २८ रन बनाउँदा चमानी सिनेभिरात्ने अविजित २३ रन जोडेकी थिइन् ।

नेपालकी सोनु खड्का, सिता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिएका थिए । यो सँगै लगातार तेस्रो खेल जितेको नेपाल सेमिफाइनलमा पुगेको छ ।

पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो भने दोस्रो खेलमा मलेसिया ६ विकेटले पराजित भएको थियो ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us