क्रिकेट खेल्दा खेल्दै भारतीय क्रिकेटरको ज्यान गयो

काठमाण्डु टुडे २०७५ पुष ३० गते १२:४५ मा प्रकाशित

एजेन्सी । क्रिकेट खेल्दा खेल्दै एक जना भारतीय खेलाडीको ज्यान गएको छ । रन लिने क्रममा एक भारतीय क्रिकेटरको हर्टअट्याकको कारण ज्यान गएको हो ।

खेलमा रन लिएपछि जब नन स्ट्राइकमा पुगे तब उनी मैदानमा ढलेका थिए । यसपछि उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको ज्यान गएको भारतीय मिडियाहरूले जनाएका छन् ।

गोवाका पूर्व रणजी क्रिकेटर ४६ वर्षिय राजेश घोडगे आइतबार दक्षिण गोवामा भइरहेको एक प्रतियोगितामा रन लिए लगत्तै मैदानमै ढलेका थिए ।

प्रतियोगितामा ३० रन बनाइसकेका घोडगे नन स्ट्राइकहुँनासाथ मैदानमा ढलेको प्रतियोगिता आयोजक मार्गावो क्रिकेट क्लबका सचिव पूर्व भाम्ब्रेले बताए ।

मैदानमै लडेका उनलाई नजिकको ईएसआई अस्पतालमा लगिएको थियो । त्यसपछि थप उपचारका लागि ३० किमी टाढा एक निजी अस्पतालमा भर्ना गरिएको थियो । तर अस्पताल भर्ना गरेलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

घोडगे प्रतियोगिता आयोजना गर्ने क्लबका सचिवसमेत थिए । भाम्ब्रेका अनुसार यसअघि उनलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या थिएन । घोडगेले गोवाका लागि दुई पटक रणजी प्रतियोगिता खेलेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us