
जनकपुर, २९ पुस– प्रदेश–२ का मन्त्रीले सचिव कुटेको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।
प्रदेश–२ मन्त्रिपरिषदको आइतबार साँझ बसेको आकस्मिक बैठकले मन्त्रीले सचिवमाथि कुटपिट गरेको घटना छानबिनका लागि समिति गठन गरेको हो । मन्त्रिपरिषदले आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य रहेको प्रदेश–२ का प्रमुख सचिव दिपक सुवेदीले जानकारी दिए ।
आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर झापड हानेका थिए । सचिव झाले आफूनिकट एनजिओलाई बजेट विनियोजन नगरेको भन्दै मन्त्री यादवले कुटपिट गरेको आरोप लगाएका छन् ।