प्रवासी नेपालीद्वारा राहत प्रदान

काठमाण्डु टुडे २०७५ पुष २४ गते १०:४६ मा प्रकाशित

बेझाड, २४ पुस – वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका गणेश गैरेको परिवारलाई प्रवासी नेपालीले राहत रकम उपलब्ध गराएका छन् ।

पाल्पा चापाकोट नगरपालिका–७ केवलघारीका ३८ वर्षीय गणेश गैरेको परिवारलाई कतारमा बस्दै प्रवासी नेपालीले सङ्कलन गरी पठाएको रु एक लाख ७८ हजार हस्तान्तरण गरिएको स्थानीयवासी कमलप्रसाद अधिकारीले बताए ।

वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका गैरेको गत कात्तिक २ गते निधन भएको थियो । शव ल्याउन कम्पनीले सहयोग नगरेपछि दुई महीनापछि मात्र गैरेको शव नेपाल ल्याइएको थियो । उनको श्रीमती, दुई छोरी र एक छोरा बिचल्लीमा परेपछि प्रवासी नेपालीले रकम सङ्कलन थालेका हुन् ।

विदेशीको सहयोगमा भवन र पुस्तकालय

पाल्पाको पूर्वखोला गाँउपालिका–१ सिलुवामा विदेशी नागरिकको सहयोगमा सामुदायिक भवन तथा पुस्तकालय स्थापना गरिएको छ । जापानी नागरिक सुजुकी रेइकोको आर्थिक सहयोगमा सिलुवा बजारमा ज्ञानज्योति सामुदायिक भवन तथा पुस्तकालय स्थापना गरिएको हो ।

जापानी नागरिक काजुमासा काकिमीमार्फत रेइकोले रु पाँच लाख उपलब्ध गराएको पूर्वखोला गाँउपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो । उक्त रकमले एक कोठे पक्की भवन निर्माण तथा रु एक लाख बराबरको पुस्तक खरिद गरिएको छ । ज्ञानज्योति सामुदायिक भवन तथा पुस्तकालयको सोमबार पूर्वखोला गाँउपालिकाका अध्यक्ष थापाले उद्घाटन गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us