अझै सकिएन विवादित विषयमा सभासद्को धारणा

काठमाण्डु टुडे २०७१ पुष १६ गते १३:०७ मा प्रकाशित

  काठमाण्डु, १६ पुस–संविधानसभाको बुधबारको बैठकमा पनि सभासद्हरुले संविधानका विवादित विषयमा आ–आफ्नै दलीय धारणा प्रस्तुत गरेका छन् ।

0

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पेस गरेको  प्रतिवेदनउपर गत मङ्सिर २९ गतेदेखि सभासद्ले आ–आफ्ना धारणा प्रस्तुत गर्दै आएका हुन् ।

छलफलमा नेपाली काँग्रेसका महालक्ष्मी उपाध्यायले संविधानसभालाई अनिर्णयको बन्दी नबनाउन संविधानसभा नियमावलीबमोजिम प्रक्रियामा पुग्न नसके मुलुक दुर्घटनाको बाटोतिर उन्मुख हुने बताइन् ।

नेकपा एमालेका शेरधन राईले राजनीतिक संवाद तथा सहमति समितिले चौथो पटक पेस गरेको प्रतिवेदनले पनि ठोस प्रस्ताव दिन नसकी असक्षमता प्रकट गरेको अवस्थामा विवादित विषयमा सार्वभौम सदनमा छलफल गर्नुको साटो प्रतिपक्षमा रहेका नेताहरूले सडक तताउने भनी गरेको घोषणा उचित नभएको धारणा राखे ।

एकीकृत नेकपा माओवादीका महेन्द्रबहादुर साहीले बहस औपचारिकभन्दा अनौपचारिकतर्फ केन्द्रित भएकाले शीर्ष नेताले संविधानसभाभित्र बहस गर्न उचित हुने, मतभिन्नताको मिलनबिन्दु खोजिनुपर्ने, संविधान जारी गर्न समयसीमामा बाँधिन नहुने आवश्यकता औँल्याए ।

तमलोपाका वृजेशकुमार गुप्ताले विगतमा पनि बहुमतको आधारमा संविधान ल्याउने कुरा स्वीकार नगरिएकाले बाह्र हजार सहिद, मधेस आन्दोलनका सहिदको बलिदानको कदर हुने गरी सहमतिमै संविधान जारी गर्नुपर्छ भने ।

सभासद्हरू दिलबहादुर नेपाली, उदय नेपाली श्रेष्ठ, बलराम थापा, मीना चौधरी, गणेशसिंह ठगुन्ना, प्रकाश शर्मा पौडेल,  खड्गबहादुर बस्यालले पनि छलफलमा आ¬–आफ्ना दलीय धारणा प्रस्तुत गरेका थिए । छलफल जारी छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us