विमानस्थल निर्माणसँगै उदयपुरमा नौ घर विस्थापित हुने

काठमाण्डु टुडे २०७१ पुष १६ गते ९:३८ मा प्रकाशित

उदयपुर, १६ पुस–जिल्लाको जोगिदह गाविस¬ ६ मा निर्माण सुरु हुन लागेको जोगिदह सगरमाथा विमानस्थल निर्माण कार्य सुरु हुने भएपछि सो क्षेत्रको आसपासमा स्थायी रुपमा बसोवास गर्दै आएका नौ घर स्थानीयवासी पूर्णरुपमा विस्थापित हुने भएका छन् ।

images

नेपाल सरकार नागरिक उड्डयन प्राधिकरण विभागबाट हवाई मैदान निर्माण गर्नका लागि अन्तिम सर्भे गरेर हवाई मैदानको नक्सासमेत पास भएपछि जोगिदह बैरागीखोला आसपास क्षेत्रका नौ घर स्थानीयवासी पूर्णरुपमा विस्थापित हुने अवस्था आएको कुरा स्थानीय भक्त प्रधान र लोकबहादुर प्रधानले बताए ।

हवाई मैदान निर्माणसँगैे झन्डै साढे पाँच बिगाहाभन्दा बढी जग्गा र घरबार समेत हवाई मैदान क्षेत्रभित्र पर्ने भएपछि आफूहरु विस्थापित हुने बेला आएको स्थानीय सनमान प्रधानले जानकारी दिए ।

यता हवाई मैदान निर्माणसँगै आफ्ना घरजग्गा गुम्ने भएपछि अहिले जोगिदह ६ बैरागीखोला आसपास क्षेत्रका स्थानीयवासी भने चिन्ता र पीडाले निकै समस्यामा पर्न थालेका छन् ।

आफूहरुले भोगचलन गर्दै आएको जग्गा र घरसमेत गुमाउनु परेपछि अब कहाँ गएर बास बस्ने वा सुकुम्बासी बन्नुपर्ने हो कि भन्ने डरले आफूहरुलाई सताउन थालेको स्थानीय डम्बर प्रधानले बताए ।

हवाई मैदान निर्माण हुने पक्का भएपछि आफूहरुको जग्गा पनि गुम्ने र आफूहरु सुकुम्बासी हुने बेला आएको कारण त्यसको उचित मुआब्जा आउनुपर्ने समेत पीडितले आवाज उठाउन थालेका छन् ।

यस विषयमा जोगिदह सगरमाथा विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र बस्नेतले भने ‘सरकारले निर्माण गर्न लागेको विमानस्थल हो, जसको जग्गा हवाई मैदानभित्र परे पनि उनीहरुलाई विस्थापित गरेर हवाई मैदान निर्माण हुँदैन, कुनै स्थानमा लगेर भए पनि पुनःस्थापना गर्ने कार्य हुन्छ ।’

जोगिदह सगरमाथा विमानस्थल निर्माणका लागि नक्सा पास गर्ने कार्य सम्पन्न भइसकेको र अहिले नेपाल सरकारबाट एक करोडको बजेट व्यवस्था भइसकेको कुरा विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष बस्नेतले बताए ।

करिब ६० करोड बजेटको अनुमानित लागतमा निर्माण सुरु हुन लागेको सगरमाथा क्षेत्रकै उच्चस्तरको उक्त जोगिदह सगरमाथा हवाई मैदानको लम्बाइ एक हजार चार सय मिटर रहेको छ भने दुई सय ५० मिटर चौडाइ रहेको पनि हवाई मैदान निर्माण समितिले बताएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us