राप्तीमा गरे एक सय २५ जनाले आत्महत्या

काठमाण्डु टुडे २०७१ पुष १६ गते ८:०८ मा प्रकाशित

  दाङ, १६ पुस–राप्ती अञ्चलमा आत्महत्याका घटना अन्य अपराधको तुलनामा बढिरहेको एक तथ्याङ्कले जनाएको छ ।

suicide

यस आर्थिक वर्षको हालसम्म राप्ती अञ्चलमा घटेका विभिन्न तिन सय ६० वटा आपराधिक घटनामा एक सय २५ वटा आत्महत्याका घटना रहेका छन् ।

जसमा सबैभन्दा बढी दाङ जिल्लामा मात्र ८० वटा त्यस्ता घटना घटेको राप्ती अञ्चल प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

प्रनाउ शर्माका अनुसार बितेको एक वर्षको अवधि अर्थात् आव २०७०÷७१ मा राप्ती अञ्चलमा घटेका विभिन्न एक हजार दुई सय ५० वटा आपराधिक घटनामध्ये तीन सय ३२ वटा आत्महत्याका घटना रहेका छन् ।

जसमा सबैभन्दा बढी झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या दुई सय २४, विष सेवन गरेर आत्महत्या गर्नेको सङ्ख्या एक सय चार, हामफालेर आत्महत्या गर्नेको सङ्ख्या तीन, शरीरमा आगो लगाएर आत्महत्या गर्नेको सङ्ख्या एक गरी  तीन सय ३२ वटा आत्महत्याका घटना घटेका थिए ।

उनका अनुसार सबैभन्दा बढी दाङ जिल्लामा झुन्डिएर एक सय १३ र विष सेवन गरी ७०, शरीरमा आगो लगाएर एक, आगोमा हामफालेर एक गरी एक सय ८५ वटा आत्महत्याका घटना घटेका छन् ।

आत्महत्या गर्नेमा  विशेष गरेर जनजाति समूहका छन् । त्यसमा महिलाको सङ्ख्या बढिरहेको छ । त्यसैगरी सल्यानमा झुन्डिएर १९, विष सेवनबाट सात गरी २६ जनाले आत्महत्या गरेका छन् ।

रुकुममा झुन्डिएर १७, विष सेवन गरी तीन, हामफालेर दुई गरी २२ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले जनाएको छ ।

त्यस्तै, रोल्पामा झुन्डिएर २४, विष सेवन गरी १७ गरेर ४१ जनाले  आत्महत्या गरेका छन् ।

प्युठानमा भुन्डिएर ५१ र विष सेवन गरी सात गरी ५८ जनाले आत्महत्या गरेको तथ्याङ्ले जनाएको छ ।

अहिले राप्ती अञ्चल प्रहरीले आत्महत्या गर्नु भनेको घोर अपराध हो, यस्तो कर्मबाट आत्मा हजारौँहजार वर्षसम्म तड्पिन्छ तसर्थ आजैदेखि आत्महत्याजस्ता मानवीय अपराधलाई परिवार र समाजबाट सदासदाका लागि परित्याग गर्न जनचेतना फैलाऔँ भन्ने विभिन्न सन्देश पर्चा छपाएर राप्तीका विभिन्न जिल्लामा पठाएको छ ।  रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us