
इलाम, १६ पुस–एक साताअघि साङरूम्वा ९ जीतपुरे बजारमा भएको आगलागी पीडितलाई इलाम सोसियल इनिसिएटिभ ग्रुपले लत्ताकपडा वितरण गरेको छ ।
आगलागीमा लत्ताकपडा र धनमाल गुमाएका तीन जनाको परिवार र आसपासका विपन्न परिवारलाई दुई सय ५० थान लत्ताकपडा वितरण गरिएको इनिसिएटिभ ग्रुपका सचिव विभूषण राईले जानकारी दिए ।
आगलागीबाट जीतपुरेका कर्णबहादुर मगर, तिलबहादुर तामाङ र राम तामाङको घर पूर्णरूपमा जलेर नष्ट भएको थियो ।
उनीहरुलाई ज्याकेट, पाइन्ट, ब्लाङकेट, टिसर्ट, कुर्तासुरुवाललगायतका कपडा वितरण गरेको हो । इलाम सदरमुकामबाट द पियर फाउन्डेसन, मङ्गलबारेस्थित त्रिवेणी युथ क्लबको सहयोगमा सङ्कलित नयाँ कपडा आगलागीपीडित र विपन्नलाई वितरण गरिएको हो । रासस