
काठमाण्डु, १६ पुुस– गाडीको पार्टपूर्जा बनाउने ठाउँमा ग्यास पड्कँदा चीनमा १७ जनाको ज्यान गएको छ । बुधबार बिहान भएको घटनामा अन्य २० जना घाइते भएको समाचारहरुमा जनाइएको छ ।
चीनको दक्षिणी सहर फोशानमा भएको उक्त घटना एउटा कारखानाभित्र ग्यास पड्केको थियो ।
फोशान सहरका अधिकारीहरुका अनुसार विस्फोटमा पर्नेहरुको उद्धार र उपचारका लागि सुरक्षाकर्मीहरु परिचालित भइसकेका छन् ।
चीनको ‘दक्षिणी महानगर दैनिक’ले जनाए अनुसार त्यहाँ तीन पटकसम्म विस्फोटको आवाज सुनिएको थियो । विस्फोट फुहुआ इन्जिनियरिङ र मेनुफेक्चरिङ कम्पनीमा भएको थियो । त्यस फ्याक्ट्रीका पर्खाल र छानाहरु पनि भत्केका बताइएको छ ।
विस्फोटमा परेर नजिकैको ग्लास फ्याक्ट्रीमा क्षति पुगेको छ । ‘दक्षिणी महानगर दैनिक’को अनलाइन संस्करणमा क्षतिग्रस्त भवन र लासहरुको तस्विर पोस्ट गरिएको छ ।