प्रचण्डबाट धोका पाएको भन्दै किरातीले दिए राजीनामा

काठमाण्डु टुडे २०७१ पुष १६ गते १४:५५ मा प्रकाशित

Gopal_Kiratiकाठमाण्डु, १६ पुस– एकीकृत माओवादी स्थायी समिति सदस्य गोपाल किरातीले पार्टीको मोर्चा–विभागको इन्चार्जबाट राजीनामा दिएका छन् ।

पार्टी हेर्डक्वाटरबाट धोका भएको भन्दै किरातीले उक्त जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।
उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा ‘जातीय फोर्स’हरुको गठन गरेको भए पनि केन्द्रीय समितिबाट अनुमोदन नगरी वैचारिक व्यवस्थापन समितिमा लगेकाले राजीनामा दिएको बताए ।

किरातीले केन्द्रीय कार्यालयका सचिव हितराज पाण्डेमार्फत मंगलबार प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।  प्रचण्ड निकट मानिने नेता हरिबोल गजुरेललाई राजीनामाअघि किरतीले मौखिक रुपमा राजीनामा दिन लागेको जानकारी गराएका थिए । गजुरेलले उक्त सन्देश तत्काल लाजिम्पाट पु¥याएर राजीनामा रोक्ने कोसिस गरेका थिए । लाजिम्पाटले किरातीको राजीनामा रोक्ने प्रयास गरे पनि विफल भएको श्रोतले जनाएको छ ।

‘सिएम (प्रचण्ड) को स्वीकृति लिएर राष्ट्रिय फोर्स निर्माण गरियो, तर केन्द्रीय कमिटीबाट अनुमोदन नगरी उहाँले वैचारिक व्यवस्थापन समितिमा पठाएपछि मलाई ठूलो संकट प¥यो’, किरातीले काठमाण्डु टुडेसँग भने, ‘वैचारिक समितिले कुनै राम्रो गर्ने विश्वास छैन, त्यसैले बाध्य भएर एमाओवादी मोर्चा–विभागको इन्चार्जबाट राजीनामा दिएको छु ।’

उनले मोर्चाको कार्यभार तत्कालका लागि महासचिव रामकुमार शर्माले सम्हाल्ने पनि बताए ।

किरातीले पहिचानसहितको संघीयताबिना माघ ८ मा संविधान जारी भए प्रतिकार गर्ने भन्दै लिम्बु, किरात, मधेस लगायतका जातीय संगठनहरुको फोर्स गठन गरेका थिए । उक्त विषय एमाओवादीमा विवादित बनेको छ ।

र यो पनि पढ्औ

फौजी कार्यदिशा तय गरेर वैद्य र विप्लवलाई एमाओवादीमा गाभ्ने किराँतीको प्रस्ताव

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us