जहाज हरायो, तर यसरी बाँच्यो दशजनाको परिवार

काठमाण्डु टुडे २०७१ पुष १४ गते ८:५७ मा प्रकाशित

जकार्ता, १४ पुस–हराइरहेको एयर एसियाको विमानमा यात्रागर्ने टिकट लिइसकेको एक इन्डोनेसियाली परिवारका १० जना सदस्य भाग्यबस बाँचेको रहस्य खुलेको छ ।

उनीहरुले सोही हराइरहेको विमानमा यात्रागर्नेगरी आइतबार बिहान ७ः३० बजेको टिकट लिएका ३६ वर्षीया क्रिश्चियानावतीले बताएकी छिन् ।

तर सो विमानले भने उनीहरुलाई छोडेर आफ्नो यात्रा समयभन्दा पहिला नै उडेकोले उनीहरु बचेका थिए । विमान त्यसको दुई घन्टा अगावै अथवा बिहानको ५ः३० बजे नै उडेको थियो ।

सोही कारण उनीहरुको परिवारका १० जनाको ज्यान बचेको थियो । ‘हामी ७ः३० को उडानका लागि सोही बमोजिमको समय तालिकामा विमानस्थल आइपुगेका थियौँ तर पनि विमान भने दुई घन्टा अगावै उडिसकेछ’ उनले भनिन् ।

एकै परिवारका छ जना युवायुवती र अरु पाका मानिस गरी १० जनाको परिवार नयाँ वर्ष मनाउनका लागि सिङ्गापुर जाने कार्यक्रम रहेको थियो ।
क्रिश्चियनावती भन्छिन् ‘विमानको सो उडान परिवर्तनको बारेमा जानकारी गराउन एयर एसियाबाट हामीलाई डिसेम्बर १५ र १६ मा गरी दुई दिनसम्म फोन पनि गरिएको रहेछ तर हाम्रो आफ्नै व्यस्तताका कारण हामीले नै फोन उठाउन सकेनौँ ।’

‘विमान सेवाका कर्मचारीले हामीलाई सोही समयभन्दा एक घन्टामात्र पछि अर्काे जहाज उड्न लागेकोले त्यसैमा लाने भनी तयारी गरिरहेका थिए र हामी त्यहीँ बस्दाबस्दै जहाज हराएको खबर आयो त्यसपछि हामी सो विमान सेवामा यात्रा नै नगर्ने भनी फर्कियौं ।’ उनले भनिन् ।

‘यो सबै भगवानले हाम्रो परिवारका लागि रचेको कार्यक्रम रहेछ भनेर हामीले सोचिरहेका छौँ ।’ उनको अनुभव छ ।

एयरबस ए३२०–२०० को उक्त विमान इन्डोनेसियाको पूर्वी जाभाको सुराबायाबाट आइतबार बिहान सिङ्गापुरतर्फ उडेको थियो । यो मलेसियाली विमान सेवाको विमान हो ।

उक्त विमान हराएको २४ घण्टापछि पनि त्यसको कुनै सङ्केत देखिएको छैन । खोजी कार्य सोमबार बिहान बाट सुरु भइसकेको जानकारी इन्डोनेसियाको यातायात मन्त्रालयका अधिकारीले दिएका छन् ।

उडान क्युजेड ८५०१ को एयरएसियाको उक्त विमानमा १५५ यात्रु रहेका थिए । त्यसमा दक्षिण कोरियाका तीन तथा सिङ्गापुर, मलेसिया, बेलायत तथा फ्रान्सका एक÷एक यात्रु रहेका बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us