
काठमाण्डु, १३ पुस– एकीकृत माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले आफू नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टीमा जान लागेको भन्ने चर्चा सत्य नभएको प्रष्टीकरण दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरसिडाँडामा बसेको केन्द्रीय समिति बैठकमा आइतबार समय लिएर बोल्दै उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले षड्यन्त्रपूर्ण प्रचारबाजी गरिएको बताए ।
नेतृत्वको राजनीतिक र वैचारिक रक्षा गर्न खोज्दा आफूमाथि पार्टीका केही नेताले सञ्चार माध्यमको दुरुपयोग गरी समाचार लेखाएको आरोप उनको थियो ।
शर्माले बाबुरामलाई नेतृत्व दिन हुन्न भनेपछि त्यसको काउण्टरमा विप्लवको पार्टीमा जान लागेको हल्ला चलाइएको जिकिर गरे ।
‘मैले प्रचण्डले बाबुराम भट्टराईलाई नेतृत्व दिन हुन्न भनेको केही नेतालाई पचेन’, उनको भनाइ उद्धृत गर्दै एक नेताले काठमाण्डु टुडेसँग भने, ‘प्रतिशोधमा मेरो राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले सञ्चार माध्यममा समाचार लेखाउने काम भयो ।’
शर्माले विभिन्न चिरामा विभाजित माओवादी धारका कम्युनिष्ट पार्टीहरुलाई प्रचण्डको नेतृत्वमा केन्द्रित गर्नुपर्ने समेत बताए ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट सम्बन्ध विच्छेद गरेर नयाँ पार्टी खोलेका विप्लवसँग त्यसयता शर्माले पटकपटक भेटेका छन् ।
र यो पनि पढ्औ