जनता एमाओवादीका खेताला होइनन्: पाण्डे

काठमाण्डु टुडे २०७१ पुष १२ गते ८:४० मा प्रकाशित

Mahendra Pandeyनुवाकोट, १२ मंसिर– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले एकीकृत माओवादी नेतृत्वको ३० दलीय गठबन्धनले घोषणा गरेको आन्दोलनको तुक नरहेको बताएका छन् ।

गृह जिल्ला नुवाकोट पुगेका पाण्डेले प्रेस चौतारीले शनिबार विदुरमा गरेको पत्रकार सम्मेलनमा सहमतिको बाटो छाडेर धम्की र घुर्कीको राजनीति गरेको आरोप लगाए ।
नेपाली जनता सचेत भइसकेकाले कसैको खेताला बनेर आन्दोलनमा नआउने उनको भनाइ थियो ।
‘सहमतिको बाटो छाडेर माओवादी धम्की र घुर्कीको राजीतिमा लागेको छ’, पाण्डेले भने, ‘नेपाली जनता जसले आह्वान गरे पनि पटकपटक आन्दोलनमा उत्रने खेताला होइनन् ।’

माओवादी आन्दोलनलाई एजेण्डाबिहीनको आरोप लगाउँदै उनले आन्दोलनले परिवर्तन संस्थागत गर्न नसकिने बताए ।

एमाले पोलिट्ब्युरो सदस्यसमेत रहेका पाण्डेले दलहरुले निर्वाचनका बेला जनतासामु बाचा गरेको सम्झेर घोषित मितिमै संविधान ल्याउनुपर्ने उल्लेख गरे ।

मन्त्री पाण्डेले एमाओवादीले प्रक्रियामा जान डराएर विधिको शासनविरोधी चरित्र प्रदर्शन गरेको आरोप समेत लगाए ।
पाण्डेले सरकार सहमतिमै माघ ८ मा संविधान ल्याउन प्रतिबद्ध रहेको दाबी गर्दै त्यसैका लागि चार दलीय कार्यदलमार्फत विवाद समाधानको प्रयास गरिएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us