
काठमाण्डु, १२ पुस– नेकपा–माओवादीको राजधानीमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा शनिबार अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ ।
काठमाण्डुको पूरानो बानेश्वरस्थित एक पाटी प्यालेसमा जारी भेलामा विहानैबाट समुहगत छलफल सुरु भएको केन्द्रीय सदस्य महेश्वर दाहालले जानकारी दिए ।
उनका अनुसार समूहगत छलफलका लागि देशभरबाट आएका नौ सय प्रतिनिधिलाई विभिन्न १८ वटा समूहमा विभाजन गरिएको छ । समूहगत छलफल सकेर आजै समूह नेताले भेलासमक्ष निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।
भेलाको पहिलो दिन अध्यक्ष बैद्यले मुलुकको पछिल्लो राजनीतिक अवस्था पार्टीको भावि कार्यदिशा र कार्ययोजना तथा हालै भएको पार्टी विभाजन लगायत विषय समेटिएको २४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।