२० दिनकी शिशुको कठ्याङ्ग्रिएर मृत्यु

काठमाण्डु टुडे २०७१ पुष ११ गते ६:३७ मा प्रकाशित

सिरहा, ११ पुस–केही दिनयता बढेको अत्यधिक चिसोको कारण सिरहामा एक नवजात शिशुको कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

सिरहाको चन्द्रअयोध्यापुर ७ का लालदेव सदाको २० दिनकी छोरी अन्जुकुमारीको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

यस सँगै अत्यधिक चिसोका कारण सिरहामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

एक साताअघि अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिए  सुखीपुर ८ का बौवा सदा र  विद्यानगर २ का आशादेवी मण्डलको मृत्यु भएको थियो ।

मङ्सिर अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएको छ ।

बाक्लो हुस्सु र चिसो हावाका कारण वस्तीहरूमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् ।

सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्ला एक सातायता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निकै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या ह्वातै घटेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us