
काठमाण्डु, ११ पुस– एबीसी टेलिभिजन विवादास्पद व्यापारी अजयराज सुमार्गीले किन्ने भएका छन् ।
श्रोतका अनुसार टेलिभिजनका संस्थापक तथा समाचार प्रमुख शुभशंकर कँडेलले टेलिभिजन सुमार्गीलाई बेच्न लागेका हुन् । कँडेलले सञ्चालक समितिका तत्कालिन अध्यक्ष पुष्पमान श्रेष्ठ र सञ्जय अधिकारीसहित बागलुङका व्यापारीलाई हटाएर उनीहरुको शेयर फिर्ता गरेपछि सुमार्गी एबीसी छिरेका थिए ।
हाल एबीसीमा सुमार्गीको ५१ र कँडेलको ४९ प्रतिशत शेयर छ । स्रोतका अनुसार टेलिभिजन एकलौटी बनाउन सहमत भए पनि सुमार्गीले आफूले लगानी गरेपछि पछल्लो तीन वर्षको आम्दानी खर्चको हिसाब मागेपछि कँडेल समस्यामा परेका छन् । सुमार्गीले यसअघि पटकपटक आर्थिक पारदर्शितामाथि प्रश्न उठाउँदै आएका थिए ।
टेलिभिजन बिक्री भएसँगै कार्यालय माइतीघरस्थित सुमार्गी कम्प्लेक्समा सर्ने भएको छ । सम्पूर्ण व्यवस्थापन सुमार्गीले लिएपछि कँडेलले भने कर्मचारीका रुपमा सोही टेलिभिजनमा काम गर्नेछन् ।
हाल उक्त टेलिभिजनको कार्यालय कमलपोखरीस्थित याक यण्ड यति होटल पछाडि छ । यसैबीच टेलिभिजन धनाढ्य व्यापारीले किन्ने भएपछि तलब पाउने आशमा पत्रकार र कर्मचारी भने खुसी भएका छन् । पत्रकार र कर्मचारीले १२ महिनाको तलब पाएका छैनन् ।
नेपाल पत्रकार महासंघले पटकपटक ताकेता गर्दै आए पनि व्यवस्थापनले प्रतिबद्धता जनाएअनुसार तलब दिएको छैन ।
महासंघमा चर्को दबाब बढेपछि अध्यक्ष महेन्द्र विष्टले आफ्ना पूर्वकर्मचारी समेत रहेका कँडेललाई एक महिनाअघि एक पाँच तारे होटलमा भेटेर कर्मचारीको तलब दिन भनेका थिए । कँडेलले मंसिर महिनाभित्र तीन महिनाको तलब दिने प्रतिबद्धता जनाए पनि अझै दिएका छैनन् ।