
काठमाण्डु, १० पुस– माघ ८ भित्रै संविधान कसरी जारी गर्ने र सहमतिको खाका कस्तो हुने भन्ने सम्बन्धमा प्रमुख दलहरुले एक कार्यदल बनाएका छन् ।
संविधानका विवादित विषयमा सहमति जुटाउन भन्दै प्रमुख चार पक्षले एक ‘टाक्सफोर्स’ गठन गरेका
। कार्यदललाई दुई दिनभित्र सहमतिका विकल्पबारे सुझाव दिन समय दिइएको बताइएको छ ।
कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाको प्रधानमन्त्री निवास बालुवाटारमा बिहीकार बसेको बैठकले विवाद निरुपणको वातावरण बनाउन कार्यदल गठन गरेको हो ।
कार्यदलमा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले उपाध्यक्ष भीम रावल, एमाओवादी महासचिव कृष्णबहादुर महरा र सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण सदस्य छन् ।
संविधानमा सबैभन्दा विवादित विषय पहिचान र संघीयताको रहेको छ । तर, कार्यदलमा कुनैपनि जनजाति समुदायको सहभागिता रहेको छैन । कार्यदलमा महिला पनि छैनन् ।
कार्यदलले नयाँ सरकार निर्माणबारे कुनै तयारी नगर्ने एमाले उपाध्यक्ष रावलले बताए । उनक ाअनुसार कार्यदल संविधान निर्माणमा मात्रै केन्द्रित हुनेछ । ‘कार्यदलले दुई दिनभित्र प्रतिवेदन बुझाउँछ,’ उनले भने, ‘तर सरकार विस्तार र निर्माणबारे यहाँ छलफल हुँदैन ।’