पोखरा पुगेर माधव नेपालले भने– अब एक हप्तामै सहमति !

काठमाण्डु टुडे २०७१ पुष १० गते ८:४० मा प्रकाशित

पोखरा, १० पुस– नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रमुख चार राजनीतिक दलका शीर्ष नेतृत्वबीच घनीभूत छलफल सुरु भएकाले एक हप्ताभित्र संविधानका विवादित विषयमा टुङ्गो लाग्ने दाबी गरेका छन् ।

Madhab Nepal
पुष्पलाल स्मृति पार्कको तेस्रो साधारणसभाको बिहीबार पोखरामा उद्घाटन गर्दै उनले सबैलाई मिल्ने गरी सहमतिको बिन्दु पहिल्याएर सहमति गरिने दाबी गरे । काँग्रेस र एमाले दुई तिहाईको दम्भ देखाएर अरु दललाई आक्रोशित गराउने पक्षमा छैनन् भन्दै पूर्वप्रधानमन्त्री नेपालले सबै दल ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने भाव अर्थात् आआफ्नो हठ त्यागेर सहमतिको विन्दुमा आउनुपर्नेमा जोड दिए ।

तोकिएको मिति माघ ८ गते नै नयाँ संविधान जारी गरी देशलाई समाधान दिनुपर्ने बताउँदै उनले मिल्न सक्ने कुरामा सहमति गर्नुपर्ने र नमिल्ने कुरालाई फरक मत राखेर भए पनि अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।

उनले भने, ‘अहिले पनि तोकिएको मितिमा संविधान आउँछ कि आउँदैन भन्नेमा नेपाली जनतामा अन्योल छ, अब सबै संविधानका अन्तर्वस्तुमा नअल्मलिई देशको आर्थिक समृद्धितर्पm लाग्नुपर्छ ।’

पुष्पलाल स्मृति परिषद्का अध्यक्ष नेपालले पुष्पलाल श्रेष्ठ कम्युनिष्ट आन्दोलनका शिखर पुरुष भएको र उनले नेपाली समाजको रुपान्तरणका लागि सुरुआत गरेको स्मरण गरे ।

व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले संविधान निर्माणमा जिम्मेवारीबोधका साथ अघि बढ्न सबै राजनीतिक दलसँग आग्रह गरे । कार्यक्रममा सभासद् यज्ञबहादुर थापा, एकीकृत नेकपा (माओवादी)का नेता गङ्गा पोखरेल र एमालेका पुण्य पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us