
काठमाण्डु, १० पुस–परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको मैत्रीपूर्ण निमन्त्रणामा चीनका विदेशमन्त्री वाङ यी सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने औपचारिक सद्भावना भ्रमणमा बिहिबार काडमाण्डु आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमन्त्री यी एवम् सो प्रतिनिधिमण्डललाई परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागीले स्वागत गरेका थिए । स्वागत गर्नकालागि नेपालका लागि चीनका राजदूत वु छुन्ताईकोे पनि विमानस्थल पुगेका थिए ।
शुक्रबार बिहान उनले चीन सरकारको सहयोगमा नयाँबानेश्वरमा निर्मित निजामती अस्पताललाई २० करोड बराबरका २६ वटा चिकित्सकीय उपकरण हस्तान्तरण गर्ने कार्यक्रम छ ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ती उपकरण हस्तान्तरण गरेपछि चिनियाँ विदेशमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपाल ¬चीन द्विपक्षीय वार्ता हुनेछ ।
राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग चिनियाँ विदेशमन्त्री वाङले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
चीनमा राजनीतिक नेतृत्वसँगै सरकार परिवर्तनपछि विदेशमन्त्री तहमा पहिलोपटक हुन लागेको भ्रमणले नेपाल चीन सम्बन्धमा नयाँ आयम थपिने विश्वास गरिएको छ । रासस