विद्यार्थी आकर्षित गर्न ३० देखि ९० प्रतिशत शुल्क कटौती

काठमाण्डु टुडे २०७१ पुष १० गते ८:५१ मा प्रकाशित

सुर्खेत, १० पुस–मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले विद्यार्थी आकर्षित गर्न शुल्कमा भारी कटौती गरेको छ ।

स्थापना कालदेखि नै महँगो शिक्षण शुल्क भएको जनगुनासो खेप्दै आएको विश्वविद्यालयले विद्यार्थी कम भएपछि आकर्षित गर्न शुल्कमा भारी कटौती गरेको हो ।

विश्वविद्यालयले शुल्क पुनरावलोकन गर्नका लागि गठन गरेको कार्यदलको सुझावका आधारमा कार्यकारिणी समितिको बैठकले शुल्कमा भारी कटौती गरेको छ । यद्यपि यसअघि विभिन्न विद्यार्थी सङ्गठनले महँगो शुल्कका विरुद्धमा तालाबन्दीदेखि आन्दोलनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

विश्वविद्यालयका रजिष्टार डा महेन्द्र मल्लले शुल्क महँगो भएको जनगुनासो तथा विद्यार्थीको मागलाई मध्यनजर गरी शुल्क घटाएको उल्लेख गरे ।

उनका अनुसार विश्वविद्यालयले विभिन्न पाठ्यक्रममा ३० देखि ९० प्रतिशतको शुल्क कटौती गरेको छ, घटाइएको शुल्क चालु शैक्षिकसत्रका लागि लागू हुनेछ ।

विश्वविद्यालयले प्रतिवर्ष आवश्यकता हेरेर शुल्कमा पुनःपरिमार्जन गर्न सक्ने व्यवस्था सुरक्षित राखेको विश्वविद्यालयका उपकुलपति कालीप्रसाद पाण्डेले बताए ।

विश्वविद्यालयले इन्जिनियरिङ सङ्कायको सिभिलमा शुल्क पहिले छ लाख २४ हजार निर्धारण गरेकामा अहिले घटाएर तीन लाख २५ हजार निर्धारण गरेको छ । बिबिएको पूरा पाठ्यक्रम शुल्क पहिले दुई लाख ६५ हजार एक सय ७० रहेकामा अहिले एक लाख ८८ हजार एक सय ७० निर्धारण गरिएको छ ।

त्उस्तै एमबिएको पहिले एक लाख ७२ हजार पाँच सय ७० रहेकामा हाल घटाएर एक लाख २८ हजार ापाँच सय ७० तय गरिएको छ ।

यस्तै बिबिएसतर्फ पहिले ३७ हजार ९७० शुल्क रहेकामा हाल घटाएर २९ हजार नौँ सय ७० निर्धारण गरिएको छ । एमबिएसको शुल्क पहिले ३१ हजार पाँच ७० रहेकामा हाल २५ हजार पाँच सय ७० तय गरिएको छ ।

त्यस्तै अन्ँय विभिन्न संकायको शुल्क पनि घटाइएको जनाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us