
काठमाण्डु, १० पुस–प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहिबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त भेटवार्तामा दुई नेताबीच निर्धारित समयमा संविधान जारी गर्न बोलाइने दलीय वार्ता र संवादलाई उपलब्धिमूलक बनाउने विषयमा कुराकानी भएको हो ।
भेटपछि एमाले अध्यक्ष ओलीले माघ ८ मा संविधान जारी गर्न दलहरुसँग विश्वासको वातावरण बनाउने र संविधानका विवादित विषयमा छलफल गरी समाधान निकाल्न प्रयास गर्ने विषयमा छलफल भएको बताए ।
उनले भने ‘हामी लचिलो छौँ तर देश र जनताका लागि दूरगामी अहित हुने कुरा स्वीकार्य हुँदैन, हामीबीच उपयुक्त प्रस्ताव विपक्षीबाट आएमा स्वीकार गर्ने भन्ने सहमति भयो ।’
अध्यक्ष ओलीले विश्वासको वातावरण बनाउन एक पक्षीय र दुई पक्षीय भेटवार्ता सुरु गर्नेे चार दलबीचको समझदारीअनुसार प्रधानमन्त्रीसँग छलफल भएको बताए ।
भेटवार्तामा सरकार सञ्चालन, विकास निर्माण, सुशासनलगायतका विषयमा पनि छलफल भएको बताइएको छ । रासस