विराटनगर, ९ पुस– विराटनगरका पत्रकार ब्रम्हदेव यादवलाई बन्धक बनाएर कुटपिट गरिएको छ ।
सुनसरी–मोरङ सिञ्चाई आयोजनाका कर्मचारीले पत्रकार यादवलाई बुधबार दुई घण्टा नियन्त्रणमा लिएर निर्धात कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते उनको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
यादवको टाउको र अनुशारसहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । आयोजना प्रमुख मधुकरराज भण्डारीले बोलाई कर्मचारी लगाएर आफूमाथि कुटपिट गरेको यादवले बताए ।
राजभण्डारीसँग उनकै कार्यकक्षमा कुरा गरिरहेका बेला कर्मचारीले उनलाई बाहिर निकालेर कुटेका थिए । यादवले केही दिनअघि आफूले काम गर्ने विराटनगर साप्ताहिकमा आयोजनामा भ्रष्टाचार भएकोबारे समाचार लेखेका थिए ।
यसैबीच यादवमाथि भएको आक्रमणको निन्दा गर्दै नेपाल पत्रकार महासंघसहित पत्रकार सम्वद्ध विभिन्न संघसंस्थाले दोषीमाथि कारबाहीको माग गरेका छन् ।