
काठमाण्डु, ९ पुस– मोहन वैद्यसँग सम्बन्ध विच्छेद गरी नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा गठन भएको नवठित नेकपा माओवादीले चन्दा अभियान सुरु गरेको छ ।
उक्त पार्टीले ‘क्रान्तिका लागि’ भन्दै देशभर चन्द संकलन अभियान थालेको हो ।
माओवादी कार्यकर्ताले राजधानीसहित देशैभर उद्योगी–व्यवसायीलाई चन्दा लिन आग्रह गर्दै पत्र दिएका छन् । पत्रमा विप्लव आफैंले हस्ताक्षर गरेका छन् । तर पत्रमा रकम तोकिएको छैन ।
स्रोतका अनुसार हरेक राज्य समितिबाट १२ करोड र राजधानीबाट मात्र ३० करोड चन्दा संकलन गर्ने योजना उक्त पार्टीको छ । माओवादीका १४ राज्य समिति छन् ।
‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा जनताको बलिदनबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्दै जनताको आफ्नै संविधान प्राप्त गर्ने अभियान प्रारम्भ गरेका छौं’, काठमाण्डु टुडेले फेला पारेको पत्रमा भनिएको छ’, ‘विगतमा जस्तै यसपटक पनि यहाँ/यहाँको संस्थाबाट आर्थिक/भौतिक सहयोगको अपेक्षासहित हामीले यो अनुरोधपत्र प्रस्तुत गरेका छौं ।’
नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विकले आफूहरुले उद्योगी व्यवसायीसँग राष्ट्रिय सम्मेलनका लागि ‘आर्थिक सहयोग’ मागेको स्वीकार गरे । ‘हामी ढाँट्दैनौ, हामीले उद्योगी–व्यवसायीसँग राष्ट्रिय सम्मेलनका लागि सहयोग मागेका छौं’, विकले काठमाण्डु टुडेसँग भने ।
उनले चन्दा दिन सक्दैनौं भन्नेलाई दबाब वा धम्की दिने पार्टीको केन्द्रीय नीति नरहेको प्रष्ट्याए । विकले चन्दा रकम एकएक रुपैयाँ सदुपयोग हुने भन्दै निश्चित अवधिमा चन्दाबाट प्राप्त रकम र खर्च विवरण सार्जननिक गरिने उल्लेख गरे ।
यद्यपि एक अरब पैसा जम्मा गर्ने योजना नभएको उनको दाबी छ । दलाल पुँजीपति तथा नयाँ र पुराना अवसरवादीहरुले आफ्नो पार्टीलाई बदनाम गराउने उद्देश्यले त्यस्तो हल्ला चलाएको उनको आरोप छ ।
आफूहरु पारदर्शी र संस्थागत ढंगले अघि बढ्न चाहेको भन्दै उनले एमाओवादी र वैद्य माओवादीमा जस्तो चन्दा उठाएर घर बनाउने प्रवृत्ति आफ्नो पार्टीमा नचल्ने दाबी गरे । ‘पार्टीका नाममा जसजसले मनलाग्यो, उसैले उठाइएर घर बनाउने काम गर्दैनौं’, किवाले भने, ‘एक एक रुपैयाँको आम्दानी र खर्च सार्वजनिक गर्छौं ।’
जनताले छिट्टै १० वर्षे जनयुद्धकालिन माओवादीको जस्तो इमान्दार व्यवहार भएका माओवादी देख्न पाउने जिकिर विकको छ ।