नेपाली महिला पर्वतारोहण टोलीको विश्वकीर्तिमान

काठमाण्डु टुडे २०७१ पुष ९ गते १२:०१ मा प्रकाशित

काठमाण्डु, ९ पुस–पर्वतारोहणका क्षेत्रमा नेपाली महिला टोली विश्व कीर्तिमान स्थापना गर्न सफल भएको छ ।

sagarmatha-sholukhumbu

विश्वका सातै वटा महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने साहसिक अभियानमा रहेका नेपाली महिलाको समावेशी आरोहण टोलीले मङ्गलबार दिउँसो अन्टार्टिका महाद्वीपको सर्वोच्च शिखर भिन्सन म्यासिफको चुचुरो चुमेर नयाँ विश्व कीर्तिमान स्थापना गरेको हो ।

टोलीकी संयोजक शैली बस्नेतका अनुसार चार हजार आठ सय ९२ मिटर अग्लो सो शिखर चुम्ने आरोहीमा चुनु श्रेष्ठ, पेमाडिकी शेर्पा, माया गुरुङ र निम्डोमा शेर्पा रहेका छन् ।

महिला मात्र सम्मिलित टोलीले सातै महादेशका सर्बोच्च शिखरको सफलतापुर्वक आरोहण गरी  विश्व कीर्तिमान कायम गरेको  हो ।

विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहणबाट सुरु भएको यस अभियानअन्तर्गत उक्त समावेशी टोलीले यसअघि अष्टे«लिया, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका र अफ्रिकाका सबैभन्दा अग्ला हिमशिखरको सफल आरोहण गरेको थियो ।

उचाइ धेरै नभए पनि अति नै चिसो, जोखिम, दूरी र खर्चका दृष्टिले सात शिखरमध्ये सबैभन्दा चुनौतीपूर्ण आन्टार्टिका रहेको टोली संयोजक बस्नेतको भनाइ छ ।

हिमशिखर आरोहणका साथै महिला सशक्तीकरण, बालिका शिक्षा र पर्यावरण संरक्षणलाई पनि आफ्नो अभियानको उद्देश्य बनाएको सो सात सदस्यीय टोलीमा आशाकुमारी सिंह र पुजन आचार्य पनि रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us