
काठमाण्डु, ९ पुस–दुवै मिर्गौलामा असामान्य पत्थरीका कारण मृत्युको मुखमा पुगेकी सिन्धुपाल्चोककी अढाई वर्षीया बालिका कुसुम तामाङले नयाँ जीवन पाएकी छिन् ।
उनका दुवै मिर्गौला सुन्निएर अत्यन्तै चिन्ताजनक र आपत्कालिन अवस्थामा पुगिसकेको भएता पनि सफल अपचारका कारण उनले नयाँ जीवन पाएकी हुन् ।
पुस ६ गते पहिला बायाँ मिर्गौलाको र पुस ८ गते दाहिने मिर्गौलाको एकल मिनी पीसीएनएल गरिएको थिायो ।
डा. सञ्जय खड्गी भन्छन् ‘दाहिने मिर्गौलाको सफलतापूर्वक मिनी पीसीएनएल बाट पत्थरी निकाल्ने काम सफल भयो र शिशुले नयाँ जीवन पाइन् ।’
शल्यक्रियाको घाउ दुबै मिर्गौलाको मध्यभागमा जम्मा आधा सेन्टिमिटर मात्रै भएको र अपरेशनका लागि कुनै रगत दिनु नपरेको समेत डा. खड्गीले बताए ।
शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा. खड्गीका साथ डा. सुनिल श्रेष्ठ, एनेस्थेसियोलोजिष्टहरू प्रा. बाबुराजा श्रेष्ठ र सहप्राध्यापक डा. श्याम महर्जन रहेका थिए ।
बिरामीको अत्यन्तै कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै उक्त शल्यक्रिया पूर्णतया निःशुल्क गरिएको समेत डा. खड्गीले बताए ।
डा. खड्गीको अनुभवमा १८ महिनासम्मको बच्चाको पनि मिनी पीसीएनएल विधिबाट सफलतम् उपचार गरिएता पनि दुबै मिर्गौला बिग्रिन लागेको अवस्थाको शल्यक्रिया मिनी पीसीएनएलबाट गरिएको भने यो पहिलो पटक हो, जुन अत्यन्तै सफलताका साथ सम्पन्न भएको जानकारी उनले दिए ।
हाल निज शिशुमा बाह्य पाइपहरू केही नरहेको, पिसाब आफंै फेर्न सक्षम भएको र अस्पतालबाट डिस्चार्ज हुने अवस्थामा रहेको जानकारी खड्गील दिए । रासस