म्याग्दी, ९ पुस–म्याग्दी जिल्लाका दुई दर्जनभन्दा बढी दुर्गमका गाउँमा खानेपानीको चरम अभाव भएको छ ।
जिल्लाका भकिम्ली, अर्मन, वरङ्जा, रुम, ओखरबोट, मुदीलगायतका गाविसका दर्जनौँ गाउँका सयौँ बासिन्दा खानेपानीको जोहोका लागि घन्टौँ लगाएर कुवा वा खोलामा धाउनुपर्ने बाध्यतामा छन् ।
ती गाउँमा भएका पानीका स्रोत सुक्दै जान थालेपछि स्थानीयलाई खानेपानीको अभाव भएको भकिम्लीका टेकबहादुर थापाले बताए ।
उनका अनुसार भएका आयोजना जीर्ण भएपछि गाविसका १, ६, ८ र ९ नम्बर वडाका बासिन्दा बढी प्रभावित भएका छन् ।
त्यसैगरी, रुम गाविसका ३, ४, ६, ७, ८ र ९ नम्बर वडामा पनि खानेपानीको समस्याले गर्दा स्थानीयको दैनिक कामकाज प्रभावित भएको स्थानीय हरि विकले जानकारी दिए ।
पश्चिम म्याग्दीका करिब दुई हजारभन्दा बढी घरधुरीमा खानेपानीको समस्या रहेको बताइएको छ । रासस