पाल्पा, ९ पुस– नेकपा–माओवादी तानसेन नगर इन्चार्ज, जिल्ला सदस्य तथा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल पाल्पाका कार्यबाहक अध्यक्ष दलबहादुर रानाले पदबाट राजीनामा दिएका छन् ।
जिल्ला पार्टीका केही जिम्मेवार व्यक्तिबाट आर्थिक अपारदर्शीता, पार्टी सञ्चालनको विधि अपारदर्शी, नियति पुरानैखाले ‘दम्भ’को परिपाटीको थालनी सुरु भएको भन्दै राजीनामा दिएको रानाले बताएका छन् ।
पार्टीको विधानअनुरुप ‘केन्द्रीयतालाई ध्यान देऊ जनवादलाई लागू गर’ भन्ने विधिको माध्यमबाट पार्टीका हरेक समस्यालाई निकास दिनुपर्नेमा पार्टी विचलित भएको उनको दाबी छ ।
राना एकीकृत नेकपा (माओवादी) विभाजनपछि पनि केही महिना नेकपा–माओवादीमा रहेका थिए । त्यसपछि पुनः एकीकृत नेकपा–माओवादीमा फर्केका नेता राना अन्तिम चरणमा वैद्य माओवादीमा रहेर काम गरेका थिए । रासस