
बागलुङ, ९ पुस–जिल्लालाई सन् २०१७ सम्ममा घरभित्रको उज्यालो जिल्ला बनाउने तयारीअन्र्तगत लघु जलविद्युत आयोजना निर्माण हुने क्रम तीव्र बनेको छ ।
जिल्ला ऊर्जा तथा वातावरण शाखा र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रले समुदायको सहभागितामा लघु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
राष्ट्रिय प्रसारण लाइनबाट विद्युत सेवा उपभोग गर्न नपाएका यहाँका ग्रामीण भेगका जनता विद्युतीकरणका लागि जुटेका छन् ।
विद्युत उत्पादनको क्षेत्रमा काम गर्ने संस्थाको अगुवाइमा विद्युत सेवा नपुगेका गाउँमा अहिले धमाधम लघु जलविद्युत योजना निर्माण तथा सञ्चालनमा रहेको जिल्ला ऊर्जा तथा वातावरण शाखाले जनाएको छ ।
शाखाका अनुसार जिल्लामा अहिले एक सय भन्दा बढी लघु जलविद्युत योजना सञ्चालनमा आएका छन् । उक्त योजनाबाट करिब तीन मेगावाट विद्युत उत्पादन भएको बताइएको छ । ती आयोजनाको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा एक अर्ब ८३ करोड ९६ हजार दुई सय १९ लगानी गरेको छ ।
अरु योजनासमेत निर्माणको चरणमा रहेका छन् । समुदायको सहभागितामा जिल्लाभित्र हाल १३ लघु जलविद्युत आयोजना निर्माणको चरणमा रहेको केन्द्रका सवइन्जिनियर गंगा आचार्यले बताए । उनले निर्माणाधीन ती आयोजनामा करिब ५७ करोड लागत लाग्ने जानकारी दिए ।
बागलुङको बोवाङ रुद्रतालमा १०.५, ताराखोलामा तिन सय ९४, टुनिखोला जलजला ४२, कुतखोला तेस्रो राजकुत २०, ढोरपाटन भुजिखोला ६०, फेदीखोला अधिकारीचौर १४, भिमगिठे खोला दोस्रो भिमगिठे ६९, बुर्तिवाङमा ३५०, गिरिङदीखोला खरवाङ ३००, दरमखोला तेस्रो ४०, भालिवाङ खोला दोस्रो ९४, नेपाने देउराली बोबाङ ३४.५, उपल्लो पालुङ खोला लघु जलविद्युत आयोजना राङखानीमा ११.७८ किलोवाट विद्युतका योजनाहरू निर्माण गर्न सुरु गरिएको हो । रासस