काठमाण्डु, ९ पुस– ‘काठमाण्डु उपत्यकाभित्र यौन सम्पर्कका किशोर किशोरी चाहिए सम्पर्क गर्नु’ भन्दै एनसेल र एनटिसीका तीन लाख ग्राहकको मोबाइलमा एसएमएस पठाउने संस्थाले सार्वजनिक रुपमा माफी मागेको छ ।
सरकारले अनाधिकृत रुपमा एसएमएस पठाएको भन्दै प्रष्टीकरण मागेर कारबाहीको तयारी गरेपछि उक्त संस्थाले बुधबारका दैनिक पत्रिकाहरुमा विज्ञप्ति छापेर माफी मागेको हो ।
आफूलाई बालबालिकामाथि हुने यौन दुव्र्यबहारविरुद्ध कार्यरत रहेको दाबी गर्ने स्वीस संस्था तेर दे जोम फाउण्डेसन लोनाज (टिडिएच) ले गत शुक्रबार ‘काठमाण्डु उपत्यकाभित्र यौन सम्पर्कका किशोर किशोरी व्यवसायिक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीका लागि फलानो नम्बरमा फोन गर्नुहोला’ भन्ने आपत्तिजनक सन्देश पठाएको थियो ।
यसअघि सो संस्थाले ‘नेपालीको बुझाई अन्यथा भएको’ दाबी गर्दै आफ्नो बचाउ गर्दै आएको थियो । विज्ञप्तिमा संस्थाले आगामी दिनमा त्यस्ता भ्रमपूर्ण सन्देश प्रवाह नगर्ने प्रतिबद्धता पनि जनाएको छ ।
‘एसएमएसका कारण विभिन्न व्यक्ति, संस्था, समुदायमा पर्न गएको सअरप्रति दु:ख व्यक्त गर्दै क्षमा याचना गर्न चाहन्छौं’, विज्ञिप्तमा भनिएको छ, ‘एसएमएसको सन्देश तयार गर्दा त्रुटि हुन गई त्यसको समाजमा नकारात्मक सन्देश प्रवाह गरेको तथ्यलाई आत्मसात गर्दै अब आइन्दा यस्तो त्रुटि कमजोरी नहुने कुराको सुनिश्चितता गरिने प्रतिबद्धतासमेत व्यक्त गर्दछौं ।’
यस्तै उसले आफू नेपालको संस्कृति, परम्परा, प्रचलित कानून, सामाजिक मूल्य र मान्यता तथा महिला र बालबालिकाको हकहितप्रति पूर्ण सम्मान गर्ने प्रतिबद्धता जनाएको छ ।