
म्याग्दी, ९ पुस–म्याग्दीका ग्रामीण क्षेत्रमा जङ्गली जनावरको चोरी सिकारी गर्ने क्रम बढ्दै गएको छ ।
चोरी सिकारीका लागि अवैध हतियारको प्रयोग गरेको पाइएको स्थानीयले बताएका छन् । म्याग्दीको बेनी नगरपालिका ४ बगरफाँटमा अवस्थित बगरफाँट सामुदायिक वनमा चितुवा र कालिजको चोरी सिकारी गर्न एक गिरोह नै सक्रिय रहेको पाइएको छ ।
केही दिनयता रातको समयमा १२/१५ जनाको एक समूह बगरफाँट गाउँको शिरानमा रहेको वनमा जङ्गली जनावरको सिकार गरेर होहल्ला गर्दै बगरफाँट–डम्मरा जोड्ने म्याग्दी नदीको पुल तरेर चुत्रेनीतर्फ लाग्ने गरेका स्थानीय इन्द्रबहादुर थापाले जानकारी दिए ।
रातको समय भएकाले आफूले गिरोहमा सक्रिय व्यक्तिको पहिचान गर्न नसकेको थापाको भनाइ थियो ।
एक वर्षअघिसम्म बगरफाँट सामुदायिक वनमा पाँचवटा चितुवा र प्रशस्तै कालिज, तित्रा, वनढिकुर, मलसाप्रालगायतका जङ्गली जनावर र पक्षी देखिने गरेकामा यस वर्ष एउटा पनि चितुवा नदेखिएको र पक्षी पनि निकै कम मात्रामा देखिने गरेका थापाले बताए ।
सो वनमा ८/१० दिनको अन्तर पारेर चोरी सिकारीमा सक्रिय गिरोहको समूह आउने गरेको र रातको समयमा भरुवा बन्दुक पड्केको आवाज सुनिने गरेको स्थानीयले बताएका छन् ।
विशेषगरी उडाइने छहरो खण्डमा बन्दुक पड्केको आवाज सुनिने गरेको थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले अवैध हतियार बुझाउन पटक–पटक सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई जानकारी दिने गरेको भए पनि म्याग्दीका विभिन्न ठाउँमा जङ्गली जनावरको सिकार गर्न बन्दुक पड्केको आवाज सुनिने गरेको गुनासा आउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले यस सम्बन्धमा कार्यालयमा कुनै जानकारी नआएको र अवैध हतियार प्रयोग गरी जङ्गली जनावरको चोरी सिकारी गरिएको पाइएमा कानुनअनुसार कारबाही गरिने जनाएको छ । रासस